
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।
सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ढकालले जिम्मेवार उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताउनुभयो । उहाँले जिम्मेवार व्यवसायी र व्यक्तिहरुले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गर्नुभयो ।
अध्यक्ष ढकालले पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताउनुभयो । उहाँले व्यवसायीहरुले मुलुकभरका व्यवसायीहरु सामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकमा करिव ७ खर्ब लगानीयोग्य पुँजी रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले पछिल्लो समय महासंघका वस्तुगत संघहरु महासंघ भएसँगै उद्योग वाणिज्य महासंघको सदस्यता नलिने भन्ने हल्ला सुनिएको भन्दै त्यसले निजी क्षेत्रलाई बलियो बनाउन नसक्ने धारणा राख्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघ सरकार पछिको दोस्रो ठूलो संयन्त्र भएको दाबी गर्दै राज्यले लिने नीति समेत महासंघको आधारणपछि मात्रै लिने गरको स्मरण गराउनुभयो ।
अध्यक्ष ढकालले व्यवसायीहरुको माग र मुद्दालाई राज्यसँग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासंघ भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्