१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गर्नुभएको हो । उहाँले सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताउनुभयो ।

सांसद यादवले संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताउनुभयो । रास्वपाका यी दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उहाँले माग गर्नुभयो ।

‘म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ । त्यो पैसा कसको हो त ? तपाईको व्यक्तिगत पैसा होइन । कसैले दान दिएको पनि होइन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ । त्यो काम श्रममन्त्रीको हो भन्ने छ । यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानविन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’ सांसद यादवले भन्नुभयो ।

सांसद यादवले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो ।