१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : पूर्वप्रधानमन्त्री खनाल


286
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सम्मानित नेता खनालले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताउनुभयो । उहाँले सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताउनुभयो । उहाँले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताउनुभयो ।

नेता खनालले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बतउनुभयो । उहाँले अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रमहरु अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

नेता खनालले भन्नुभयो, ‘देशका सबै वामपन्थीहरुको प्रतिनिधित्व गरेर आज यो गोष्ठीमा साथीहरुले जुन अभिव्यक्ति व्यक्त गर्नुभएको छ, मलाई बडो खुशी लागेको छ । यो कुरालाई हामीले हाम्रा नीतिहरुमा विकास गरौँ । कार्यक्रमहरु विकास गरौँ । संगठनहरुमा विचार विमर्श गरौँ । आम जनतासँग जाने अभियानमा विकास गरौँ । वर्ग संघर्षमा विकास गरौँ । बिना संघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ तर सडक प्रमुख कुरा हो । जनता नै हाम्रो पहिलो शक्ति हुन् । जनताको इच्छालाई बुझेर हामीले एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउँदैन । त्यसैले हामी सबैले नयाँ ढंगले एकताको मञ्च खोजौँ ।’

सम्मानित नेता खनालले भ्रष्टाचारलाई उन्मुलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।