
म्याग्दी । म्याग्दीमोेको सामुदायिक वनमा लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आएन ।
म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौं हेक्टर जंगल नष्ट भएको छ । जंगलका वन्यजन्तु, चराचुरुङ्गी र वन पैदावर नष्ट भएका छन् ।
मंगलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनपा–२ बगरफाँट र बेनपा–३ भकिम्लीका लरेनी, बिरखानी लगायत आसपासको वनभरी आगो फैलिएको बगरफाँटका तोपबहादुर कार्कीले बताउनु भयो ।
कार्कीले ‘आगो नियन्त्रण बाहिर छ, मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुँवाको मुस्लोले बस्तीमा बस्नै गाहे भएको छ’ बताउनुभयो । डढेलो फैलिएर बेनी नगरपालिका–३ भकिम्लीको तल्लो बस्तीसम्म पुगेको छ ।
वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई मध्यनजर गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीहरुमा सर्तकता अपनाउन अनुरोध गरिएको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।
आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आगलागी कसरी भयो भन्ने अझै यकिन भएको छैन् । म्याग्दी जिल्लामा विभिन्न सामुदायिक बनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरेपनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ ।
म्याग्दीमा आगलागीले सदरमुकाम बेनीबजारसँगै जोडिएको बराहपाखो सामुदायिक वनसहित जिल्लाभरका सामुदायिक तथा सरकारी वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् ।
हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्याङ्कले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारणले हुने गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्