
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री आर्यालले यस्तो आरोप लगाउनुभएको हो ।
श्रममन्त्री आर्यालले लोकतन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताउनुभयो । उहाँले देशको नेतृत्व गर्न नपाउने छटपटिमा काँग्रेसका युवा नेताहरु तड्पिएको बताउनुभयो । उहाँले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न काँग्रेसलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेसले हामी बोलि रहन्छौँ, तँ सुनिराख, तर बोल्न पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताउनुभयो ।
मन्त्रीअर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक÷दुई लाख रुपैयाँसम्म दिने बताउनुभयो । उहाँले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताउनुभयो । उहाँले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी गर्नुभयो ।
श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताउनुभयो । उहाँले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताउनु भयो । उहाँले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्