१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं उपत्यकामा चाँडै आधुनिक ट्राफिक लाइट व्यवस्था हुन्छ : मन्त्री महासेठ


104
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारी गरेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिकमन्त्री महासेठले यस्तो बताउनुभएको हो ।

मन्त्री महासेठले नेपालको यातायात सुधार गर्न सवारी साधन सुधार गरेर मात्रै नहुने भन्दै ट्राफिक व्यवस्थापन पनि सुधार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसको लागि बजेटको व्यवस्थापन गरी पहिलो पटक काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्न लागिएको बताउनुभयो । उहाँले पहिलो चरणमा काठमाडौं,ललितपुर र भक्तपुर त्यसपछि पोखरा,नेपालगञ्ज,विराटनगर,जनकपुर र वीरगञ्ज जडान गरिने बताउनुभयो ।

मन्त्री महासेठले आवश्यकताअनुसार सरकारले यातायात क्षेत्रमा सुधारहरु गर्दै जाने बताउनुभयो । उहाँले साझा यातायातले बाँकी अन्य विद्युतीय बसहरु पनि ल्याएर सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री महासेठले विद्युतीय ट्याक्सी र बसहरुलाई भौतिक मन्त्रालयले दिनसक्ने र सरकारले दिनसक्ने सहुलियतको विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले ट्याक्सी र बस सञ्चालनको लागि महँगो भइरहको डिजेल र पेट्रोललाई बिस्तारै विस्थापित गरेर विद्युतीय सवारी साधन सञ्चालन गर्ने भन्ने विषयमा होमवर्क गर्ने प्रतिवद्धता जनाउनुभयो ।