
काठमाडौं । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान सुरु गरेको छ ।
बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गर्नुभएको हो ।
बिहीबारदेखि सुरु भएको अभियान २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ ।
ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको बताउनुभयो । उहाँले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताउनुभयो ।
प्रधानसेनापति शर्माले पछिल्लो वर्षहरुमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोरपनि थुप्रिन थालेकाले सरसफाईमा ध्यान पु¥याउनुपरेको बताउनुभयो । उहाँले नेपाल सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताउनु जानकारी दिनुभयो । उहाँले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरुको स्वच्छता कायम गर्ने उद्देश्य अनुरुप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताउनुभयो ।
उहाँले मानिसका कारण हिमालहरुमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्