
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले बिहीबार ५३ राउण्ड गोली बरामद गरेको छ ।
नेपाल–भारत सीमा दशगजा नजिक मलंगवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
सानो हतियार (पेस्तोल)मा प्रयोग हुने गोली बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी गराउनुभयो ।
गोरखकालीस्थित भोलेबाबा अटो पार्टस् एण्ड विजयी रिपेरिङ सेन्टर अगाडि खुला ठाउँमा गरगहना राख्ने सानो ब्यागभित्र हालेर माटोमुनी गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले बरामद भएको गोली जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्