
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दाबी गर्नुभएको छ ।
सोमबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनको लागि नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताउनुभयो । उहाँले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुरुङ मार्गको ‘ब्रेक–थ्रु’ भएर निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसावले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताउनुभयो । उहाँले सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताउनुभयो । ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पु¥याउने उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग, फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले सुरुङ निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्यले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सडक सञ्जालको माध्यमबाट अन्तरआवद्धता बिस्तार गरी आवागमनमा सहजता,यातायात लागतमा न्युनता र प्रादेशिक सन्तुलन कामय गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्यमा रहेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ’ गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुनकोशी मरिन डाइभर्सन सिंचाई आयोजनाको पनि सुरुङ छिट्टै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गर्नुभयो । उहाँले निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौं तराई–मधेस फास्ट ट्रयाकले पहाड मधेसलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउने बताउनुभयो । प्रधानमन्त्री दाहालले यस्ता परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिष्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले काठमाडौंबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगर लगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रुतमार्गहरू बनाउनुपर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गराइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्