
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।
कार्यकारी निर्देशक घिसिङले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताउनुभयो । उहाँले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले २०२१ मा विभिन्न रुपमा छलफल भएपनि कोभिड आएपछि थप समस्या भएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गर्नुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई प्रवद्र्धधक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताउनुभयो । उहाँले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने शेयर दिने पक्षमा रहेको बताउनुभयो । उहाँले वैदशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको बताउनुभयो । उहाँले तामाकोशी ५ मा तामाकोशी जलविद्युत आयोजनाको शेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले तामाकोशी ५ जलविद्युत आयोजनाको १० प्रतिशत शेयर दोलखालाई दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्