२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुवै दाबी अस्वीकृत, नयाँ दाबी गर्न पुनः आह्वान


793
Shares

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गर्नुभएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र सोही पार्टीर्क रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । तर त्यसको दुई दिनपछि प्रदेश प्रमुख मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख ६ गते साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिनुभयो । आफ्नो दललाई मुख्यमन्त्री दिन सत्तारुढ दलका शीर्ष नेताहरू सहमत भएपछि मंगलबार एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले आइतबार लक्ष्मणकिशोर चौधरीलाई दिइएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ ।

यसैबीच, प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान भएपछि कांग्रेस र नागरिक उन्मुक्ति पार्टी भने रुष्ट भएका छन् । मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कानुनी उपचार तथा अन्य वैकल्पिक कदम चाल्ने बताउनुभयो ।