
काठमाडौं । आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रुपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर रामनवमी पर्व मनाइँदैछ ।
यस अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरुको भीड लागेको छ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । त्यसैको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ ।
बत्तिसपुतली राममन्दिरका मुल पुजारी हरिप्रसाद अधिकारीले रामनवमी राक्षसहरुले देवताहरुलाई दुःख दिएर पृथ्वीले थाम्न नसकेपछि सबै देवताहरु भगवानकोमा गएको र म मनुष्य अवतारमा धर्तीमा जन्म लिएर राक्षसहरुको अन्त्य गर्नेछु भन्ने वचन दिएपछि देवताहरु आफ्नो लोकमा फर्किएको कुरा शास्त्रमा रहेको बताउनुभयो ।
मुल पुजारी अधिकारीले पछि दशरथको पुत्र भएर जन्मिनुभएको र श्रीराम वनवास सवारी भएको बताउनुभयो । श्रीरामले राक्षसहरु मार्दै गएर बाँदर सेनाको साथमा गइ लंकामा रावणको वध गर्नुभएको बताउनुभयो । उहाँले आज श्रीरामको जन्मदिन भएकाले जन्मोत्सव मनाइएको बताउनुभयो ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्