
काठमाडौं । १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको महिला भलिबलतर्पm बुधवार सेमिफाइनल समीकरण पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतिस्पर्धाबाट समूह ‘ए’ का वागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे ।
बेस्ट अफ थ्रीमा भएको प्रतिष्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे । अब बिहीवार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिष्पर्धा हुनेछन् । समूह ‘ए’ बागमती पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूहविजेता बन्यो ।
गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेस प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेस प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो । पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलम स्थान बनाइसकेका छन् ।
चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो । लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्