१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छ : स्वास्थ्यमन्त्री यादव


130
Shares

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य उपकरण शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री यादवले वार्षिक रुपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुकभित्रै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशतमाथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताउनु भयो । उहाँले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसके पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गर्नुभयो । उहाँले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताउनु भयो ।

स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताउनुभयो । उहाँले नेपाली बजार र नेपाली उपभोक्ता, स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदासमेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले स्वास्थ्य उपकरणहरु सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन गर्न राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताउनुभयो ।

‘नेपालमा स्वास्थ्य उपकरण उत्पादनमा लगानी गर्न सक्ने ठूलो सम्भावनाको क्षेत्र हो । तर मुलुक सतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर छ । मेडिसिन र फर्मासिटिको क्षेत्रमा पनि ५० प्रतिशत लगानी भएको छ । छिमेकी मुलुकले ९० प्रतिशत माथि गरिसक्यो । बंगलादेशले विश्व बजारमा पनि स्थान लिएको छ । उत्पादनमा गुणस्तर दिन सक्यो भने फर्मासिटिको क्षेत्रमा प्रशस्त सम्भावना छ । यस्तो सम्भावना भएको क्षेत्रमा लगानीको सुरुवात भएको छ । त्यो स्वागत योग्य छ ।’ मन्त्री यादवले भन्नुभयो ।

मन्त्री यादवले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पु¥याएको बताउनुभयो । उहाँले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो ।