
सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा दिनदिनै गर्मी बढ्दैछ । टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुन थालेसँगै सर्वसाधारण प्रभावित भएका छन् । बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा यहाँको सडक, बजारमा मानिसको आउजाउ निकै पातलो देखिन्छ ।
चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैतासहित सम्पूर्ण हाटबजार सुनसान बनेका र ब्यापार व्यवसाय निकै घटेको व्यवसायी बताउँछन् ।
तराई क्षेत्रमा यो वर्ष बैशाख लागेसँगै गर्मी ह्वात्तै बढेको हो । हिजोआज रातको समयमा पनि हपक्क गर्मी हुन थालेको छ । दिउँसोपख चर्को घामसँगै तातो हावासमेत चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कनु पर्नेहरुसँगै मजदुर र किसान प्रभावित बनेका छन् ।
चर्को घाम र तातो हावाले यस क्षेत्रमा तापक्रम बढ्दो छ । गर्मी बढ्दै जाँदा मानिसमा गर्मीजन्य संक्रमण बढिरहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शित्तलता प्रदान गर्ने खानेकुरा खान, बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्