
काठमाडौं । जैन धर्मका प्रवर्तक महावीरको २६ सय २३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति पौडेलले जनकल्याणका लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभरका जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गर्दछन् ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिख लगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्