८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राम्रो भविष्यको निम्ति पुनः वाम एकताको प्रयास जारी राख्ने : प्रधानमन्त्री दाहाल


455
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गर्नुभएको छ ।

सोमवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो संकेत गर्नुभएको हो । उहाँले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अब देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उहाँले राम्रो कामका लागि प्रयास जारी राख्ने बताउनुभयो । उहाँले कम्युनिष्टहरुको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताउनुभयो । उहाँले समाजवाद नै अबको क्रान्तिको बाटो भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरु कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको बताउनुभयो । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘नरबहादुर कर्मचार्यले कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ भन्नुभएको थियो । हामी कम्युनिष्टहरु एकतावद्ध हुँदै पनि गयौँ । शायद नरबहादुर कर्मचार्य जस्ता पुराना पिढीका निष्ठावान नेताकै कारण हामीलाई पनि कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो । त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो । ०७४ को चुनावमा जे प्रयोग हामीले ग¥यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामीले निरन्तर प्रयास गरि नै राख्नुपर्छ । त्यसकारण अहिले पनि हामी कहीँ न कहीँ राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति पनि समाजवादको विकल्प छैन । समाजवाद नै अबको क्रान्तिको बाटो हो । ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले मानव जाति जतिसुकै विकसित भएपनि जलवायु परिवर्तनको कारणले यदी प्रकृृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताउनुभयो । उहाँले युएईमा हालै भएको डुबानको उदाहरण दिँदै प्रकृतिको दोहन गर्दाको परिणाम राम्रो नहुने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका विषयलाई पनि कम्युनिष्टहरुले अध्ययन, अनुसन्धान र विश्लेषणको विषय बनाउन जरुरी रहेको बताउनुभयो ।