
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जनलाई थुनामा नै पठाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त ईजलासले उच्च अदालत पाटनको फैसला सदर गर्दै रायमाझीसहित सात जनालाई थुनामै पठाउन आदेश दिएको हो ।
थुनामा पठाइएकाहरुमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सल्लाहकार ईन्द्रजित राइ, केशव दूलाल, सन्देश शर्मा, सागर राई र सानू भण्डारी रहेका छन् । तर आङटावा शेर्पा र गोविन्द कुमार चौधरीको हकमा भने सर्वोच्चले उच्चको फैसला बदर गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ । आङटावा शेर्पासंग तीस लाख र गोविन्दकुमार चौधरीसँग दश लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै हज कमीटीका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छाड्न पनि सर्वोच्चले आदेश दिएको छ । गत मंसिर १५ गते उच्च अदातलत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै उनीहरु दश जनालाई थुनामा पठाउने आदेश गरेको थियो ।
उच्च अदालतको फैसलाविरुद्ध उनीहरु गत फागुन ८ गते सर्वोच्च गएका थिए ।
प्रतिक्रिया दिनुहोस्