
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरुसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बिहीबार नेपाल निजामति कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो असन्तुष्टि जनाउनुभएको हो ।
मन्त्री महासेठले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनिय अवस्था भएको बताउनुभयो । उहाँले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताउनुभयो । उहाँले आयोजनाहरुको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार दु्रत गतिमा काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री महासेठले आयोजनाहरुको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाउनुभयो । उहाँले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरु असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिनुभयो । उहाँले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री महासेठले आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौंमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरुलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौं नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरुलाई कतै सरुवा नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गर्नुभयो ।
उप्रधानमन्त्री महासेठले सरकारले निजामति कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरुको हितमा ल्याउने बताउनुभयो । उहाँले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानूनी विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गर्नुभयो । उहाँले तत्काल कर्मचारी ऐन ल्याउने पक्षमा सरकार रहेको बताउनुभयो । उहाँले निजामति कर्मचारीहरुलाई प्रतिकुल हुनेगरी ऐन पास नहुने उल्लेख गर्नुभयो ।
मन्त्री महासेठले नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्रले लय लिएको दाबी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरु पनि सरकारप्रति आशावादी देखिएकाले आर्थिक गतिविधिहरु चलायमान भइरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्