१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनमा भएका व्यवस्थाहरुको बारेमा आम जनतालाई बुझाउन नसक्दा संविधान र कानून कार्यान्वयनमा समस्या आएको बताउनुभएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानूनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताउनुभएको हो ।

मन्त्री शर्माले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेका बताउनुभयो । उहाँले जातिय छुवाछुत, सम्पत्तिमा छोराछोरीको बराबरी हक तथा आमाको नामबाट नागरिकता दिने विषयमा संविधान र कानुनमा स्पष्ट भएपनि कार्यान्वयनमा कठिनाइ भएको बताउनुभयो ।

मन्त्री शर्माले कानूनमा उल्लेख गरेपनि मानिसहरुको दिल, दिमागमा पु¥याउन नसकिएको भन्दै त्यसमा कमजोरी भएको बताउनुभयो । उहाँले संविधानमा भएको कुराहरु जनतालाई बुझाउन अभियान चाल्नुपर्ने भएपनि त्यस्तो गर्न नसकिएकोले समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले ठूलो पदमा बसेका व्यक्तिहरुले गरेको गल्ती कमजोरीलाई व्यवस्थासँग जोडेर दुषित मनशायका साथ दोष दिने गरिएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो । उहाँले व्यक्तिले गरेको गल्तीमा व्यवस्थाले दोष पाउनु नहुने बताउनुभयो । गल्ती गर्नेहरु जति नै ठूलो पदमा बसेपनि कानुनी दायरामा आउने उहाँको भनाई छ ।