२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित


0
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।

शनिबार त्रिविमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राखे । आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गरे ।

त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उनको विश्वास छ । उनले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राखे । तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ ।

आगामी १÷२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताए । उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गरे । आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उनको भनाइ छ । तर रोहितले सोचेअनुरूप ब्याटिङ भएको बताए । उनले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गरे । कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताए । त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने उहाँले आशा व्यक्त गरे ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमण आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । तर आज रोहितले राम्रो प्रदर्शन गरेको प्रशिक्षक मोन्टीले बताए । पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ । उहाँले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पारे । प्रशिक्षक मोन्टीले वेस्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गरे । वेस्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गरे । आफ्नो टोलीले राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए ।