
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताउनुभएको छ ।
धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भएमात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउने बताउनुभएको हो । उहाँले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाइ भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गर्नुभयो । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताउनुभयो । उहाँले एमालेले कृषि र सिँचाइमा बढी जोड दिएर काम गरिरहेको पनि बताउनुभयो ।
‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो । त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदासमेत यहाँका मधेसी जनतालगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौँ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको बताउनुभयो । यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताउनुभयो ।
सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्