१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा दिउँसो १ बजे दखि मतगणना शुरु


572
Shares

बझाङ । बझाङमा मतपेटिका संकलन गर्ने कार्य सकिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

बझाङ क्षेत्र नम्बर १(क) को प्रदेश सभाको निर्वाचनका ९० वटा केन्द्रका मतपेटिका शनिबार रातिनै सदरमुकाममा सङ्कलन गरिएको थियो । आइतबार बिहान साइपाल गाउँपालिकाको धलौन, काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत मतगणना स्थल ल्याइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा रहेको मुख्य निर्वाचन कार्यालयमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन भएर बिहान ११ बजे सर्वदलीय बैठक बसि दिउँसो १ बजेदेखि मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । २४ देखि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने गरी मतगणना गर्न दुई समूह तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

मतगणनास्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्ला अदालत वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना नेपाल प्रहरीले मतगणना स्थलको सुरक्षा गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भरत शाहले जानकारी दिनुभयो । मतगणना स्थलको सुरक्षार्थ सशस्त्र प्रहरी पनि परिचालन गरिने उहाँले बताउनुभयो ।