
काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
उहाँहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय घरजग्गा कारोबारमा आएको सिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी सरोकारवालाहरुको थियो । घरजग्गा व्यवसायमा देखिएका समस्या बैंकिङ क्षेत्रको स्थायित्वको लागि पनि समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनीहरुले बैंकहरुले ६२५ अर्ब भन्दा बढी लगानी रहेको दाबी गर्नुभयो । उनीहरुले बैंकमा ६ खर्बको लगानी मात्रै नभएर ३५ अर्ब भन्दा बढीको घरजग्गा धितोको रुपमा बैंकहरुले लिएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउने तर्फ नीतिहरु उन्मुख गराएको बताउनुभयो ।
निर्देशक पौडेलले राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको बताउनुभयो । उहाँले व्यवस्थित रुपमा कारोबार गर्ने व्यवसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको बताउनुभयो ।
निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाई रहेको बताउनुभयो । उहाँले असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति,अपरदर्शी र राज्यको राजश्व गुम्ने बताउनुभयो । उहाँले अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको बताउनुभयो । उहाँले औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको बताउनुभयो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घरजग्गा व्यवसायमा नेपालका बैंकहरुले करिव ६२५ अर्ब भन्दा बढी लगानी रहेको बताउनुभयो । उहाँले बैंकहरुको कर्जाको करिव १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको बताउनुभयो । उहाँले बैंकहरुको जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी,कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको बताउनुभयो ।
अध्यक्ष केसीले बैंकिङ क्षेत्रले भविष्यमा अर्थतन्त्रको पिलरको रुपमा घरजग्गा कारोबार रहेको बताउनुभयो । उहाले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा बैंकहरुको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भएपनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको बताउनुभयो ।
अध्यक्ष केसीले घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने बताउनुभयो । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने बताउनुभयो । उहाँले बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले घरजग्गा कारोबार वृद्धि हुनुमा बैंकको ठूलो भुमिका रहेको बताउनुभयो । उहाँले घरजग्गा व्यवसायलाइ अनुत्पादन क्षेत्र ठानेर कर्जा नदिँदा अहिलेको परिणाम आएको पनि बताउनुभयो । उहाँले घरजग्गा कारोबार सबै क्षेत्रको लागि महत्वपूर्ण र अर्थतन्त्रको लागि मेरुदण्ड भएको बताउनुभयो ।
उहाँले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको बैंकमा धितो घरजग्गा रहेको र भुक्तानी दिन नसक्दा ठूलो समस्यामा परेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्