
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो ।
आइतबार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी शुरु हुन थालेको थियो । सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिनुभयो । त्यस्तै, उहाँले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरुको पार्टी एकढिक्का भएको बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एकीकृत समाजवादी)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले अनावश्यक रुपमा बाहिर हल्ला चलाइएको बताउनुभयो । उहाँले आफूहरुको पार्टीभित्र कुनै समस्या नभएको बताउनुभयो । उहाँले एकीकृत समाजवादीसहितका दलहरुले अर्को समिकरण बनाउँदैछन् भनेर गलत हल्ला चलाइएको पनि बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले एकीकृत समाजवादीका कार्यकर्ता र समर्थकलाई हतोत्साहि गराउनका लागि बालकोटमा बसेर एकीकृत समाजवादी फुटको हल्ला चलाइएको बताउनुभयो । उहाँले योजनावद्ध रुपमा हल्ला चलाइएको भन्दै त्यसले आफूहरुलाई कुनै असर नपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दल विभाजनले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने बताउनुभयो । उहाँले ठूला दलहरुले नै जसपा विभाजनका लागि भुमिका खेलेका बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्