
काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतवार निर्वाचन आयोगमा निवेदन परेको थियो । आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणत्र दिएको छ ।
जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको छ । राई नेतृत्वको जसपामा ७ जना सांसदहरु रहेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिनुभयो । उहाँले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोही अनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
उहाँले जसपालाई संसदीय दलको कार्यालय समेत उपलब्ध गराइने बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यताप्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्