
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको हो ।
संविधानको धारा १८८ प्रतिकुल भएको कार्य प्रथम दृष्टिमा गैर कानुनी र त्रुटिपूर्ण रहेको भन्दै विश्वासको मत लिने सम्बन्धमा गण्डकी प्रदेशका सभामुखबाट भएको घोषणाको निर्णय बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।
विश्वासको मतका लागि ३१ मत हुनुपर्नेमा सभामुखले ३० जनालाई नै बहुमत भनेर विश्वासको मत पाएको घोषणा गरेकोमा कांग्रेसले त्यसमा असहमति जनाएको हो । गत आइतबार गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० मत परेको थियो ।
सभामुख कृष्णप्रसाद धितालले त्यसलाई नै बहुमत भन्दै विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्