८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राज्यले बिना कारण बैंकको कोर क्यापिटल खोस्दा बैंकहरुको नाफा नकारात्मक भयो : बैंकर्स


0
Shares

काठमाडौं । राज्यले बैंकको कोर क्यापिटल बिना कारण राज्यले खोसेर लैजाँदा बैंकहरुको नाफा नकारात्मक हुन पुगेको बैंकर्सहरुले बताएका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै बैंकर्सहरुले यस्तो बताएका हुन् ।

उनीहरुले सरकारले बिना कारण अनावश्यक नीति लिएर बैंकहरुबाट ३१ अर्ब रुपैयाँ लिएकाले बैंकहरु दबाबमा रहेको बताए । उनीहरुले सरकारले लिने नीतिहरुको कारण पछिल्लो समय बैंकिङ क्षेत्रको समेत मनोबल कमजोर भएको र लगानी गर्ने आत्मबल समेत घटेको बताए । बैंकर्सहरुले सरकारले बैंकिङ क्षेत्रलाई स्थायित्व र बलियो बनाउनको लागि सरकारले जथाभावी नीति अपनाउन नहुने बताए ।

उनीहरुले बैंकमा खर्बौं लगानीयोग्य रकम हुँदा पनि कर्जा बिस्तार हुन नसक्नु निजी क्षेत्रको कमजोर मनोबलका कारण रहेको उल्लेख गरे । उनीहरुले बैंकहरुले अर्बमा नाफा गर्ने भाष्य कायम भएपनि चालु आ.व.मा बैंकहरुको नाफा उच्च रुपमा गिरावट भएको भन्दै त्यसले बैंकहरु अफ्ठ्यारो अवस्थामा रहेको बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा बैंकहरुमा कर्जाको ब्याजदर घटेर एक महिना अघिको एभरेज ल्याडिङ रेट १०.७८ रहेको बताउनुभयो । उहाँले एभरेज ल्याडिङ रेट १०.७८ रेट प्रि–कोभिड भन्दा कम भएको दाबी गर्नुभयो । उहाँले एक वर्ष अघिसम्म बैंकको ब्याजदर बढी भएर व्यापार व्यवसाय चलायमान हुन सकेको भनिए पनि अहिले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान हुन नसक्नु ठूलो प्रश्न खडा भएको बताउनुभयो ।

अध्यक्ष केसीले ब्याजदर एकल अंकमा आइसक्दा रियल स्टेट,शेयर मार्केटमा सुधार आउन नसक्नु निजी क्षेत्रको मनोबल कमजोर हुनु रहेको दाबी गर्नुभयो । उहाँले पछिल्लो २० वर्षमा पहिलो पटक निजी क्षेत्रको आत्मबल कमजोर भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको आत्मविश्वास नभएपछि बैंकिङ क्षेत्रलाई असर गर्न थालेको उल्लेख गर्नुभयो । उहाँले अहिले बैंकको रिटर्न इकुटी ८.८५ प्रतिशत रहेको बताउनुभयो ।

अध्यक्ष केसीले ६१ सय अर्ब जति निक्षेप लगानी गरेको र ५१ सय अर्ब कर्जा बिस्तार भएको बताउनुभयो । उहाँले चालु आ.व.को अन्त्यसम्ममा ६ प्रतिशतको मात्रै कर्जा बिस्तार हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले ५ खर्बको लगानीयोग्य रकम बैंकहरुले लिएर बस्दा समेत कर्जा माग हुन नसकेको बताउनुभयो ।

अध्यक्ष केसीले हरेक दिनको निक्षेपलाई राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्न बैकहरुले दैनिक घाटा व्यहोर्नुपरिरहेको गुनासो गर्नुभयो । उहाँले निजी क्षेत्रका मुद्दाहरु र सरकारले नीतिगत रुपमा गरेका कामले निजी क्षेत्र मात्रै नभएर बैंकिङ क्षेत्रको पनि मनोबल कमजोर भएको दाबी गर्नुभयो ।

ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरुको कर्जा बिस्तार तल्लो तहसम्म अझै पुग्न नसकेको बताउनुभयो । उहाँले सबै मानिसहरुमा वित्तीय पहुँच पुग्न नसकेको अवस्था बैंकहरुले स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालको जिडिपीमा वृद्धि हुन नसक्नुको दोष कर्जा बिस्तारलाई दिनु नहुने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले कर्जा बिस्तार १० प्रतिशतसम्म निरन्तर हुँदा पनि जीडिपी ग्रोथ ५ प्रतिशतमा सिमित रहेको बताउनुभयो । उहाँले जीडिपी भन्दा बैंकको कर्जाको बिस्तार बढी भए पनि नेपाली सबैमा बैंकको कर्जा पहुँचमा नपुगेको उल्लेख गर्नुभयो । उहाँले चालु आवमा १२ बैंकको नाफा नकारात्मक रहेको बताउनुभयो । उहहाँले ररकारले बैंकहरुको विना कारण कोर क्यापिटलको ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा समस्या भएको बताउनुभयो । उहाँले बैंकहरुको कोर क्यापिटलबाट ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा नाफामा असर परेको बताउनु भयो । बज्रचार्यले सरकारले हुँदै नभएको नीति ल्याउँदा बैंकहरुलाई दबाब परेको उल्लेख गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले अर्थतन्त्र चलायमान भएन मात्रै भनिरहेको तर के कारणले भयो भनेर विश्लेषण गर्न नसकेको बताउनुभयो । उहाँले असारदेखि चैत मसान्तसम्म १० बिलियन प्रोभिजन गरिसकेको बताउनुभयो ।