१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनहरुलाई परिचालन गर्न रोक्नुपर्ने बताउनुभएको हो ।

हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उपकुलपति बरालले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको बताउनुभयो । उहाँले विगतमा भ्रातृ संगठनहरु आवश्यक भएपनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

उपकुलपति बरालले आफूहरुले पनि विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि शुद्ध किसिमले चलाउने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने बताउनुभयो । उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त कलेजहरुलाई अनुगमन गरी निश्चित संयन्त्र बनाइ नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षा लगायतका परिक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने बताउनुभयो । विश्वविद्यालयले बजारको माग अनुरुपको नयाँ पाठ्यक्रम दिन नसकेको स्वीकार गर्दै उहाँले आगामी दिनमा नयाँ पाठ्यक्रमको बारेमा पनि सोचिने बताउनुभयो ।