
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताउनुभयो । उहाँले योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गर्नुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले योग तथा ध्यानलाई आत्मसाथ गर्नसके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताउनुभयो । उहाँले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताउनुभयो । उहाँले भगवान शिव, बुद्ध, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गर्नुभएको भन्दै ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्