
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री महासेठले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले दल भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गर्नुभयो । उहाँले वर्तमान सरकारले भौतिक प्रगतिको रुपमा राम्रो उपलब्धि पाउने प्रतिवद्धता जनाउनुभयो ।
उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गर्नुभयो । उहाँले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको बताउनुभयो । पार्टीका नेताहरुलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनु भन्दा साँच्चिकै विकास भएको छ की छैन ? भन्नेबारेमा सत्य जानकारी प्रश्तुत गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्