११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मधेश प्रदेश सरकार एमालेको नेतृत्वमा बन्ने सम्भावना छ : सरोजकुमार यादव


1.742k
Shares

काठमाडौं । नेकपा(एमाले) मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ ।

आइतवार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा(एमाले) बाहिरिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताउनुभएको हो ।

नेता यादवले आफूहरुले दुई पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताउनु भयो । उहाँले सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने बताउनु भयो । आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘माथिल्लो समिकरण आजबाट जसपा, नेपालले समर्थन फिर्ता लिने संकेत गरेकोले जसपा, नेपालले संकेत गरिसकेपछि हामी पनि यहाँ किन बसिराख्ने भनेर हो । माथिल्लो गठबन्धनमा उहाँहरु नबसेपछि यहाँ हामी उहाँहरुको गठबन्धनमा बस्नुपर्छ भन्ने जरुरी ठानेनौँ । बाँकी राजनीतिक दलहरुसँग परामर्श गर्छौ । नयाँ सरकार निर्माणको निम्ति गणपुरक संख्या हामीलाई पुगे हामीले सरकार निर्माण गर्ने हो । पुगेन भने यो सरकारको निरन्तरता चलिरहन्छ । उहाँहरुले बहुमत सिद्ध गरे उहाँहरु रहने हो । हामीले बहुमत सिद्ध गरे हामी रहने हो ।’

नेता यादवले संघीय गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिने संकेत गरेपछि आफूहरुले प्रदेश सरकारमा जसपा, नेपाललाई समर्थन दिइराख्न उचित नठानेको बताउनुभयो । उहाँले प्रदेश सरकार पनि संघीय गठबन्धन अनुरुपको बनाउने बताउनुभयो ।