१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै


299
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।

प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाइसकेको छ । तर सत्तारुढ दलमध्येको दल एमालेले तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसि स्थगित भएको थियो । आज भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने जनाएको छ ।

मुख्यमन्त्री सोडारी एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद रहेका छन् ।