७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संवैधानिक आयोगहरुमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी


468
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संवैधानिक आयोगहरुमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था नभएको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न आयोगका पदाधिकारीहरुसँग भएको छलफलमा यस्तो बताउनुभएको हो ।

मन्त्री जोशीले संवैधानिक आयोगहरुमा कर्मचारी अभावको कारण सह–सचिवहरुलाई सचिवको जिम्मेवारी दिने गरेको बताउनुभयो । उहाँले आयोगहरुमा सह–सचिव जिम्मेवारी दिँदा समेत सामान्य खर्च बाहेकको बजेट र कार्यक्रम नहुने भएकाले आयोगहरुमा जान इच्छा नदेखाउने गरेको बताउनुभयो । उहाँले सह–सचिवहरुलाई समेत काम दिन नसक्ने आयोगहरुमा सरकारले सचिवलाई पठाएर टिकाउन नसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री जोशीले आयोगहरुमा प्रदेशका मन्त्रालयहरुमा हुने जति पनि बजेट नहुने भएकाले सह–सचिव स्तरका कर्मचारीहरु प्रदेश सरकारका मन्त्रालयमा जान चाहने तर आयोगमा जान नचाहेको देखिएको बताउनुभयो । उहाँले सरकारले संवैधानिक आयोगहरुमा छुट्टै विशेष ढङ्गले सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले विशेष ढङ्गले सोचर सामान्य भुमिका बारेमा गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।

मन्त्री जोशीले निजामति कर्मचारी ऐन संसदबाट कानून बनेर आएसँगै आयोगहरुमा अभाव रहेका कर्मचारीहरु व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।