८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै


962
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिनुहुने भएको छ । सोमबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु परेको हो । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहालले यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

उता नेपाली काँग्रेसले भने गृहमन्त्री रवि लामिछानेको सहकारीमा रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दवाव दिँदै छानबिन समिति गठन नहुँदासम्म सदन अवरोध गर्ने अडानमा छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गराउनु भएको छ ।

जसपा छाडेका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न माग गर्दै यादवले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाएमा बदर हुने यादवको भनाइ छ । यादवको रिटमाथि आजको लागि नै पेसी तोकिएको छ ।