२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री दाहाल


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनु भएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसंग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै प्रधानमन्त्री दाहलले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

‘आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ’, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।