१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘घर-जग्गा कारोबारलाई व्यवस्थित बनाउन बजेटमा जग्गा तथा आवास विकास प्राधिकरण बनाउने घोषणा गर्नुपर्छ’


0
Shares

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घरजग्गामा पछिल्लो समय देखिएका समस्या समाधान र कारोबार व्यवस्थित बनाउनको लागि प्राधिकरण बनाउने घोषणा गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष लोहनीले मालपोत ऐन, २०३४ संशोधन भएपनि नियमावली तत्काल बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले घरजग्गा कारोबार हेर्न छुट्टै नियमनकारी निकायको रुपमा जग्गा विकास आवास प्राधिकरण बन्नेगरी बजेटमा घोषणा गर्नुपर्ने माग राख्नुभयो । उहाँले प्राधिकरणले घरजग्गाको कारोबारलाई पनि शेयर मार्केट जस्तो व्यवस्थित गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लोहनीले शहरी ऐनमा ल्याण्ड पुलिङ निजी क्षेत्रलाई ल्याउने व्यवस्था गरी रियल स्टेटलाई जग्गा हदबन्दी छुट दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा कारोबार शिथिल भएको परिस्थितिलाई सहज बनाउने बजेट आउनुपर्ने बताउनुभयो । उहाँले एसेट व्यवस्थापन कम्पनी बनाउन सुझाव दिनुभयो । उहाँले विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन ल्याउने प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लोहनीले सरकारले बजेटमा लोकप्रिय खालका कार्यक्रम ल्याउने तर कार्यान्वयन नहुने समस्या रहेको भन्दै कार्यान्वयन गर्नेगरी ल्याउन सुझाव दिनुभयो । उहाँले घरजग्गा कारोबार क्षेत्रमा पनि यस्ता धेरै कार्यक्रमहरु घोषणा हुने गरेको तर कार्यान्वयन नहुने गरेको भन्दै कार्यान्वयन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनको लागि लाइसेन्सको व्यवस्था गर्नेकुरा धेरै वर्ष पहिला भनिएको भएपनि हालै ऐनमार्फत व्यवस्था गरेको भन्दै ब्रोकरहरुलाई पनि छुट्टै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले समग्र उद्योगी व्यवासायीहरुलाई आशा जगाउने गरी बजेट ल्याउन सुझाव दिनुभयो ।