२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा


741
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

कांग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो ।

बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरुले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर कांग्रेस सांसदहरु बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो ।

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसदहरुले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाउनुभयो । सांसद प्रदीप पौडेलले सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताउनुभयो । उहाँले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाउनुभयो ।

यता, सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आफूहरुले बोल्न नपाएको बताउनुभयो । प्रमुख प्रतिपक्ष दलका सांसदहरु पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरु भने बोल्न नपाएको उहाँको भनाई छ । उहाँले कांग्रेस सांसदहरुले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो संसद खुल्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेको भन्दै आजको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडी बढाउन खोज्नुभएको बताउनुभयो । उहाँले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा कांग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानविन समिति बनाउने विषयमा आईतवारसम्म सहमति जुट्ने बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताउनुभयो । उहाँले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताउनु भयो । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उहाँको भनाई छ ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)कै सांसद लेखनाथ दाहालले नेपाली कांग्रेसको अवरोधका कारण महिनौदेखि संसदमा बोल्न नपाएको बताउनुभयो । उहाँले कांग्रेस सांसदहरुले आफूहरुको मौलिक हकको अपहरण गरेको आरोप लगाउनुभयो ।

उहाँले कांग्रेस सांसदहरु आफू बोलेर संसद अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा काँग्रेसलाई बोल्न नदिएको जिकिर गर्नुभयो ।