२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसका नेतामाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती


585
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिनुभएको हो ।

महामन्त्री शर्माले नेपाली कांग्रेसका नेताहरु छानविनको दायरामा आउन तयार रहेको बताउनुभयो । उहाँले गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाउनुभएको भन्दै त्यसमा पनि सबैमाथि छानविन गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले कांग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताउनुभयो ।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गर्नुभयो । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उहाँले बताउनुभयो । उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाउनुभयो । सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताउनुभयो । उहाँले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानविन हुनुपर्ने बताउनुभयो ।