
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै महानिरीक्षक अर्यालले यस्तो बताउनुभएको हो ।
महानिरीक्षक अर्यालले सिंचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
महानिरीक्षक अर्यालले अहिलेसम्म दुबै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताउनुभयो । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरु सरकारसँग भएपनि सुरक्षा निकायहरुसँग जोडिन नहुने बताउनुभयो । उहाँले हेबी सवारी साधनहरु सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताउनुभयो । उहाँले बाढी पहिरोको कारण काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिनेगरी सहजिकरण गर्ने तयारी गर्न आवश्यक रहेको बताउनुभयो ।
महानिरीक्षक अर्यालले प्रत्येक जिल्लामा कम्तिमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरु मौज्दात राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुको कोषमा ६ अर्ब बढी पैसा भएको तर खर्च नभएको भन्दै तत्काल खर्च गर्ने मन्त्रालयले आदेश दिन माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्