
काठमाडौं । मकवानपुरको भीमफेदी जुरीखेतमा भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा ६च ९३७९ नम्बरको कार बुधबार साँझ अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको जानकारी दिनुभयो ।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा मनहरी बेलुवाका अर्जुन नेपाली र उन्का तीन महिने छोरी अर्जिता रहेकी छन् । एकजना मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते बेलुवाकी सरिता परियार र चितवन लोथरकी सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्