
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताउनुभएको छ ।
बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुग्नुभएका खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
खेलकुदमन्त्री श्रेष्ठले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताउनुभयो । यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उहाँको विश्वास छ ।
खेलकुदमन्त्री श्रेष्ठले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनुभयो । उहाँले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताउनुभयो । उहाँले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताउनुभयो ।
क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताउनुभयो । उहाँले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताउनुभयो । उहाँले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको बताउनुभयो ।
सो अवसरमा खेलकुदमन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गर्नुभएको थियो । उहाँले लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको बताउनुभयो ।
नेपालले आईसिसि टि २० विश्वकप २०२४ मा भाग लिँदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका र वेस्टइण्डिज पुगेर त्यहाँका विभिन्न क्लव र विश्वकप अगाडिको खेलहरु खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानडासँग खेलिसकेको छ भने अमेरिकासँग आज खेल्दैछ । विश्वकप जुन २ तारिकबाट अमेरिका र वेस्टइण्डिजमा शुरु हुँदैछ । जसमा नेपालले भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको शुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्