
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै उहाँले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताउनुभयो । उहाँले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताउनुभयो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताउनुभयो । उहाँले कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने बताउनुभयो । समाजवादको सोच र रुपान्तरणको अभियान सांस्कृतिक रुपान्तरणको अभियान भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभयो । समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्