
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरेका असरहरुलाई न्युनिकरण गर्नका लागि हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न हिमालको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । उनीहरुले जलवायु परिवर्तनको असर हिमालहरुमा देखापर्न थालेको र नजिकैको बस्तीको जनजीवनसमेत प्रभावित हुन थालेको भन्दै यसप्रति समयमै सचेत हुन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि हिमाललाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले हिमालको सरसफाई चुनौतीपूर्ण रहेको भन्दै नियमित रुपमा सरसफाई गर्नका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले हिमालका भएका हिमतालहरु फुटेर जनजिवन जोखिममा पर्ने खतरा रहेको भन्दै अहिले नै त्यसप्रति सरकारले योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य ईन्दिरादेवी गौतमले विश्वका अन्य हिमाल भएका देशहरुले कसरी हिमालको संरक्षण र सरसफाइ गरिरहेका छन् भनेर सिक्न सकिने धारणा राख्नुभयो । उहाँले हिमालमा रहेका बस्तीमा संकट ननिम्तियोस् भन्नका लागि बेलैमा सचेत हुनुपर्ने भन्दै ठोस योजना बनाइ अहिलेदेखि नै लागू गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले हिमाली क्षेत्रमा प्लास्टिक प्रयोगलाई वर्जित गर्नुपर्ने बताउनुभयो । उहाँले प्लास्टिकको प्रयोग गर्नेलाई कडा कारबाही गर्ने नीति ल्याएर मात्रै नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले हिमाल संरक्षणका लागि आवश्यक उपायहरुको सम्बन्धमा छलफल गरेर सोही निष्कर्षका आधारमा अगाडी बढ्नुपर्ने पनि बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले सरकारले सगरमाथा क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभयो । उहाँले सगरमाथा क्षेत्रमा ध्यान केन्द्रित गरेर तीन तहको सरकारले एकीकृत योजना बनाएर लागू गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य दुर्गाकुमारी गुरुङले जलवायु परिवर्तनमा असर पु¥याउने खालका मानविय क्रियाकलापहरुलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले विकसित मुलुकका कारण नेपाललाई मार परिरहेको भन्दै यो विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले उठाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु संकटको विषयमा देशका आम जनतालाई सुसुचित गराउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले जलवायु परिवर्तनका असरस्वरुप कुनैपनि बेला अप्रत्याशित घटना हुनसक्ने भन्दै त्यस सम्बन्धमा बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले यसका लागि समितिले विज्ञहरुसँग छलफल गरी सरकारलाई निर्देशन दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण आइपर्नसक्ने विपत्तिको सम्बन्धमा सरकारको तयारी के छ भनि प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्