११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने


2.665k
Shares

काठमाडौं । नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ ।

नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ ।

मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताउनुभयो । उहाँले यस वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गर्नुभयो । राज्यले कुनकुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौंमा कुरा गर्दै डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताउनुभयो । उहाँले गृह मन्त्रालय, आपत्कालिन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो ।

विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि शतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन् ।

यता विपद् पूर्वतयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको बताएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको हो । नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरुको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ ।

शुक्रवार काठमाण्डौमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि पूर्वतयारीमा जुटिसकेको बताउनुभयो । उहाँले विगतका वर्षहरुको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरुले योजना बनाएको बताउनुभयो । उहाँले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण भइसकेको बताउनुभयो । उहाँले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरुको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिनुभयो । उहाँले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरु छुट्याइएको र आवश्यकता अनुसार रकमहरु पनि परिचालन हुने बताउनुभयो ।

उहाँले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गर्नुभयो । उहाँले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताउनुभयो ।