
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरु प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने बताउनुभयो । उहाँले अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताउनुभयो ।
‘अहिलेको राजनीतिक सन्दर्भमा दुई वटा प्रवृत्तिहरु एउटा त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गरेर लैजाने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने भन्ने एउटा ट्रेन छ । राजनीतिक प्रवृत्ति छ । अर्को ट्रेन यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ । यो दुई वटा प्रवृत्तिको बीचमा कहिले खुला खालले बहस हुन्छ र कहिले विभिन्न रुपमा चलिरहेको छ । त्यसमध्येको जसले यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरुको आक्रमणको तारो प्रदेश भएको छ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पु¥याउन आफूले पहल गरिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्