
काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ । नागरिक आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराउनुभएको हो ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक बरालले ओपिडी काउण्टर बढाएर भएपनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गर्नुभयो । उहाँले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य बीमा गरेका नागरिकले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गर्नुभयो ।
सचेतक बरालले भन्नुभयो, ‘आज हाम्रा सर्वसाधारण नागरिकहरु सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ति नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउण्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु ।’
सचेतक बरालले संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्