
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिको काम शुुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति शुुरु गरेको जनाइएको छ ।
चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन भएको यो सडकका लागि २० रुपैयाँ स्रोतको सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गरिएको थियो । अहिले सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।
तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो बेनी नगरपालिकाको ९, १० नं वडा तथा रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो ।
यस्तै चालु आवमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा दुई करोड रुपैयाँको बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिला गरिनुकासाथै नाली निर्माण, टेवा पर्खाललगायतका काम सकेर कालोपत्रे र ढलानको तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्रे र ढलान भइसकेको छ ।
यस्तै बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास भइरहेको बताइएको छ ।
प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन एक अर्ब २० करोड रुपैयाँको बजेट स्रोतको सुनिश्चितता पनि भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजनाको ठेक्का प्रक्रिया पनि शुरु भइसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्