१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने भारतको अडानप्रति एमालेको असन्तुष्टि


533
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले असन्तुष्टि जनाउनु भएको हो ।

एमाले सचिव भट्टराईले भारत सरकारले नेपालको विद्युत खरिदमा भारत सरकारले भँगेराको जस्तो छातीभन्दा पनि ठूलो छाती बनाउन आवश्यक रहेको भन्दै भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध भएकाले विद्युत व्यापार सम्बन्धमा संकुचन अडान राख्न नहुने धारणा राख्नुभयो ।

सचिव भट्टराईले भारत नेपालको विद्युत खरिदका सम्बन्धमा आफ्नो लगानीमा बनेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने संकुचित अडानमा लचिलो बन्न आग्रह गर्नुभयो । उहाँले भारतलाई विद्युत आपूर्ति गर्नुपर्ने र नेपाल भारतलाई विद्युत निर्यात गर्न तयार रहेको अवस्थामा भारतले चीन वा अन्य कुन देशको लगानीमा बनेको आयोजना भन्ने विषयमा चासो राख्न जरुरी नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले चीन—भारत दुवै देश ट्रिलियन डलरमा व्यापार पर्ने तर नेपालबाट विद्युत खरिदमा नेपालको जलविद्युत आयोजनामा चीन वा अन्य देशको लगानीका विषयमा खोजी गर्न आवश्यक नभएको उल्लेख गर्नुभयो ।

सचिव भट्टराईले नेपालको जलविद्युतमा जुनसुकै देशको लगानीमा बनेका आयोजना भएपनि नेपालको ट्रान्समिसन लाइनमार्फत भारतमा विद्युत निर्यात हुने भएकाले लगानीको विषयमा भारत सरकारले चासो राख्न जरुरी नभएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल जस्तो अल्पविसित देशलाई भारत जस्तो ठूलो देशले उदारता देखाउन आवश्यक रहेको बताउनुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘नेपालको भित्र राष्ट्र भारतसँग बहुआयामिक सम्बन्ध छ । केही कुरामा हामी अफ्ठ्यारोमा पनि परेका छौं । संसदमार्फत मित्र राष्ट्र भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरुले ठूलो देशको ठूलो छाती देखाउनु पर्ने हो । त्यो देखाउनु भएको छैन । भंगेराको जस्तो छाती भयो । कुन आयोजनाबाट बनेको, चीनको लगानी भएको छ की छैन । अरु कसको लगानी भएको छ वा छैन । आफू दुई देश ट्रिलियन डलरमा व्यापार गर्छन् । चीन र भारतले अनि नेपालमा कुन देशको लगानी छ भन्ने खोट्याउनु पर्ने के आवश्यकता छ ?’

‘भारतलाई विद्युत आपूर्तिको माग छ । नेपाल विद्युत दिन तयार छौं । कसले लगानी गरेको हो भन्दा पनि नेपालको ट्रान्समिसन लाइनबाट जान्छ । त्यसमा भारतले किन ठाउँको दुखाउने ? यसमा उदारतापूर्वक भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ सचिव भट्टराईले भन्नुभयो,

सचिव भट्टराईले नेपालले बंलादेशमा ५ हजार मेगावट विद्युत निर्यात गर्ने भारतको भूमि हुँदै ट्रान्समिसन लाइन जाने भएकाले भारत सरकारले सहजिकरण गर्न माग गर्नुभयो । उहाँले अल्पविकसित मुलुक नेपाललाई विद्युत व्यापारमा सहजिकरण गरे मात्रै छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो ।