१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ


0
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ६ किलो सुन र ४८ लाख नगदसहित एक जना चिनियाँलाई पक्राउ गरेको छ ।

सीआइबीले गएराति काठमाडौंको बौद्धबाट शेरब ग्याल्मो नाम गरेका ३७ वर्षिय तिब्बती मूलका चिनियाँलाई पक्राउ गरेको हो ।

काठमाडौंको बौद्ध, तीनचुलेमा डेरा लिएर बस्दै आएका उनको साथबाट पक्राउ गरेका चिनियाँसँग नेपाली नागरिकता समेत फेला परेको सीआइबीले जनाएको छ । उनको डेरामा खानतलासी गर्दा सोनम गुरुङ नामको नेपाली नागरिकता फेला परेको सीआइबीले जनाएको हो ।

मुस्ताङको लोमन्थाङ गाउँपालिकाको वडा नम्बर ५ बाट उनले नागरिकता लिएका हुन् । पक्राउ परेका यी ब्यक्ति ६१ किलो सुन तस्करीमा संलग्न रहेको र सीआइबीको खोजीको सूचिमा रहेका ब्यक्ति भएको जनाइएको छ । ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको सीआइबीले हालसम्म दश जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरुमा चार जना भारतीय समेत छन् । गत वर्ष साउन २ गते मोटरसाइकलको ‘ब्रेक सु’ मा लुकाएर हङकङ हुँदै नेपाल ल्याइएको ६१ किलो तस्करी प्रकरणमा सीआइबीले पहिलो चरणमा २९ जनालाई प्रतिवादी बनाएको थियो ।

सरकारले सो प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोग बनाएको थियो । सो आयोगले गत चैत १ गते नै प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाइसकेको छ ।